फाइल तस्वीर

इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो ।

जेनेभामा राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसङ्घका उप–मानवअधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । ‘इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल–नासिफले भनिन् ।

यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये धेरै अल्पसंख्यक समूहका थिए । गुटरेसको प्रतिवेदनमा लागुऔषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ । उनले निष्पक्ष परीक्षणको मापदण्डसँग मेल नखाने गरी मृत्युदण्ड दिइने क्रम जारी रहेको बताइन् ।