काठमाडौं – नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बैंकका सम्पूर्ण बिभाग तथा डिभिजन प्रमुखहरु र प्रादेशिक कार्यालय प्रमुखहरु गरि ४२ जनाको सहभागिता रहेको थियो ।
प्रधान कार्यालय बजेट तथा योजना विभागले आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागीहरुलाई नेपालको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र सम्भावनाहरूबारे प्रशिक्षण समेत प्रदान गरिएको थियो । बैंकले सम्पूर्ण प्रदेशहरूमा प्रदेशस्तरीय बजेट गोष्ठीहरू सम्पन्न गरी सम्पूर्ण शाखाहरूबाट आएका सल्लाह सुझावहरु सम्बन्धमा प्रधान कार्यालयका विभाग तथा डिभिजनबीच छलफल साथै राय सुझाब सहित बजेट तथा कार्यक्रमहरु तयार गर्दा त्यसको प्रभावकारिता बढि हुने देखिएकोले यस्ता कार्यक्रमहरु प्रत्येक बर्ष आयोजना गरिंदै आएको जनाएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ्ग क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मेहनतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रुपमा अगाडि आएको प्रतिक्रिया समेत व्यक्त गर्नुभयो ।