फाइल तस्वीर
बेइजिङ– चीनले अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरुलाइ दुई महिनाको लागि प्रतिबन्ध लगाएको छ । जुलाई १ तारिखदेखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाएको हो ।

ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ । बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुन्छन् । यो बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्ने गर्दछ ।

ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठकको सुरक्षालाई ध्यान दिंदै टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशङ्कामा प्रतिबन्ध लगाइएको प्राप्त समाचारमा जनाइएको छ । टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर–वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएका छन् ।

ग्रीष्म शिखर सम्मेलनको सुरक्षा र गोपनीयतालाई लक्षित गरी बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ । एजेन्सी