सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो ।

स्थानीयकाअनुसार उनलाई ६÷७ वटा कुकुरले टोकेर शरीरभरि घाउ बनाएको छ । उनलाई फुटबल प्रशिक्षक विष्णु रावत लगायतको टोलीले उद्धार गरेको स्थानीय नरजन तामाङले जानकारी दिनुभयो । “रानीवन क्षेत्रमा सातवटा भुस्या कुकुर छन् । यसअघि पनि दुई तीनजनालाई ती कुकुरले टोकेर गम्भीर घाइते बनाइसकेका छन्,” उहाँले भन्नुभयो “घाइतेको शरीरभरी घाउ नै घाउ छ ।”

स्थानीयले सरोकारवाला निकायलाई कुकुरको व्यवस्थापन गर्न दबाब दिँदै आन्दोलन गरिरहेको तामाङले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय हुम्लाका अनुसार जिल्लामा सामान्य उपचार गरी घाइतेलाई नेपालगञ्ज रिफर गरिएको छ ।