काठमाडौं – साताको तेस्रो कारोबार दिन आज सेयरबजारमा हरियाली छाएको छ । सेयरबजार परिसूचक नेप्से ३७ दशमलव ४९ अङ्कले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८ दशमलव १८ अङ्कले बढेको हो ।

आज मङ्गलबार सेयरबजारमा २ सय ३१ कम्पनीको सेयर किनबेच भएको छ । दिनभरिमा २४ हजार ९ सय ८३ पटकको खरिदबिक्रीमा १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको हो । आज ३७ लाख कित्ता सेयर बिक्री भएका छन् । कुल १३ वटै समूहका सूचकहरु आज बढेका छन् । ती समूहका मध्ये १ सय ८९ कम्पनीको सेयर बढेको छ भने ६ वटाको घटेको छ ।

आज आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । गुमाउने लगानीकर्ताले आज २ दशमलव ९३ प्रतिशतसम्म घाटा व्यहोर्नुपरेको छ । आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।