फाइल तस्वीर
वीरगञ्ज – वीरगञ्जस्थित भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आ.व.को जेठ महिनामा मात्रै १८ अर्ब ८ करोड ३७ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो भन्सार विभागबाट वीरगञ्ज भन्सारले पाएको लक्ष्यभन्दा ७ दशमलव ९ प्रतिशतले बढी हो ।

विभागबाट वीरगञ्ज भन्सार कार्यालयले कुल १६ अर्ब ७५ करोड ६८ लाख ९५ हजार रमजश्व सँकलन गर्ने लक्ष्य पाएको थियो । जेठ महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट ७ अर्ब ८९ करोड ७४ लाख ३५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यस्तै भन्सार महसुलबाट ६ अर्ब २२ करोड ६६ लाख २५ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको छ । त्यस्तै अन्तःशुल्कबाट जेठ महिनामा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरबाट ४० करोड २७ लाख ३४ हजार रुपैयाँ, सडक मरम्मत तथा सम्भार दस्तुरबाट २७ करोड ८८ लाख २१ हजार रुपैयाँ, कृषि सुधार शुल्कबाट ११ करोड २६ लाख ३५ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्षको जेठ महिनामा भने लक्ष्यभन्दा धेरै कम राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको जेठ महिनामा कार्यालयले लक्ष्यको जम्मा ६३ प्रतिशत मात्रै राजश्व सङ्कलन गरेको थियो ।