फाइल तस्वीर
काठमाडौँ – नेपाल उद्योग परिसङ्घले मुलुकको औद्योगिक अवस्थाको प्रतिवेदनको सार्वजनिक गरेको छ । परिसङ्घले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर तेस्रो अङ्क सार्वजनिक गरेको हो ।

परिसङ्घले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार उद्योगको आय २७ दशमलब १ प्रतिशत रहेको उल्लेख गरेको छ । चालू आर्थिक वर्ष ०७८÷०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्याङ्क उक्त प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनले उक्त अवधिमा उद्योगले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत उपयोग गरेको देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७७÷०७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७ दशमलब १ प्रतिशत बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको छ । अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले सरदर ९ दशमलब ४ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ९ दशमलब १ प्रतिशत ब्याज भुक्तानी गरेका छन् । गत आ.व. को सोही अवधिमा ८ दशमलब ६ प्रतिशत ब्याज तिरेको देखिन्छ । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ४३ दशमलब ८ प्रतिशत बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।