फाइल तस्वीर
किएभ – युक्रेनले रुसमाथि आफ्नो देशको अन्न चोर्दै विदेशमा बेचेको आरोप लगाएको छ । अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सार टेक्नोलोजिजले दुईवटा ठूला रुसी जहाजले अन्नको कार्गो सिरियाली वन्दरगाहहरुमा ओसार्दै गरेको देखेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको हो ।
खाद्यान्नलाई लिएर विश्वलाई बन्धक बनाउँदै यसरी युक्रेनबाट चोरीका अन्न सिरियाली वन्दरगाहमा बेच्नुलाई राजनीतिक विश्लेषकहरुले अपराधको संज्ञा दिएका छन् ।

रुसी राष्ट्रिय ध्वजावाहक धेरै जहाजलाई युक्रेनी अन्न विदेशमा ओसार्दै गरेको देखिएको बताइएको छ । आफ्नो मुलुकमाथि पश्चिमी मुलुकहरुले लगाउँदै आएका नाकाबन्दीहरु हटाउन दवाव दिने उद्देश्यले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निरन्तर विश्वव्यापी भोकमरी समस्या सिर्जना गर्ने धम्की दिंदै आएका छन् ।

म्याक्सारले तिनै जहाजहरुले केहीदिनअघि मात्र क्रिमियाको बन्दरगाह शहर सेभास्तोपोलमा पनि यसरी नै अन्न लोड गरिरहेको देखिएको जनाएको छ । त्यहाँ हप्तौंसम्म रुसी फौज चोरिएका युक्रेनी अन्न लोड गर्नमा व्यस्त रहेको बताइएको छ ।

गत २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । त्यहाँ आक्रमण गरेदेखि नै सिरिया रुसको निकटतम गठबन्धन मुलुकको रुपमा देखापरेको छ । र, सिरियाले रुसी जहाजलाई आफ्ना बन्दरगाह खुल्ला गरिदिएको छ । युक्रेनी अधिकारीहरुले रुसी सेनाले चोरिगरेका अन्नहरु अन्य मुलुकहरुलाई नकिन्न आह्वान गरिरहेका छन् । युक्रेनले रुसी सेनालाई अन्न बोकिरहेकोप्रति चेतावनी दिँदै आएको छ ।

संयुक्त राष्ट्र संघको तथ्याङ्क अनुसार साठी प्रतिशत सिरियाली जनता खाद्यान्न अभाबबाट पिडित रहेका छन् । युक्रेनबाट लुटिएको भनिएको अन्न रुसले सिरियातिर पठाएको समाचारमा भनिएको छ । लेवनानस्थित युक्रेनी राजदुतावासले विगत तीन महिना भित्र ४ करोड अमेरिकी डलरभन्दा बढि मुल्य पर्ने करिव १ लाख टन गहुँ रुसले सिरियामा ओसारिसकेको जनाएको छ ।