फाइल तस्वीर
काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचन आज हुँदैछ । एन्फाको आगामी चार वर्षे नेतृत्वका लागि नयाँ निर्वाचन हुन लागेको हो ।

सधैं विवादको घेरामा रुमलिंदै आएको एन्फाको आगामी नेतृत्वकाका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष बाट मुक्त हुन नसकेको एन्फाको आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङको समूहबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । यी दुवै प्रतिस्पर्धीहरु आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । अध्यक्षका अर्का प्रत्याी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले पनि उम्मेदवारी दिएका छन् । पौडेलले भने कुनै टिम बनाएका छैनन् ।

आज सोमबार हुन लागेको एन्फाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, चार उपाध्यक्ष पदका लागि आठ, १३ खुल्ला सदस्य पदका लागि ३६ तथा दुई महिला सदस्य पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एन्फाको २१ सदस्यीय कार्यसमिति चयनका लागि वैधानिक व्यवस्थाअनुसार जिल्ला फुटबल सङ्घ, विभिन्न श्रेणीका क्लब तथा प्राविधिक सङ्घहरु गरी कुल ८४ संस्थाले मतदान गर्ने पाउनेछन् ।

जसमा ४८ मध्ये ४४ जिल्लाले मताधिकार पाउँदा सहिद स्मारक ‘ए’ डिभिजन क्लबका १४, ‘बी’ डिभिजनका १४ मध्ये ११, ‘सी’ डिभिजनका १४ मध्ये ९ तथा राष्ट्रिय लिगका लागि छनोट भएर पनि दुई वर्षअघिदेखि खेल्न नपाएका चार क्लबले मताधिकार पाउँछन् । यसैगरी महिला, खेलाडी, प्रशिक्षक र रेफ्री सङ्घले पनि एक÷एक मताधिकार पाएका छन् ।

चार वर्ष अघि भएको एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङकोसमूह विजयी बन्दै एन्फाको नेतृत्व सम्हाल्न पुगेको थियो । हिजोको एकैसमूहबाट चुनाव जितेर नेतृत्वमा पुगेका यी दुई हस्तीबीच छुट्टाछुट्टै समूहबनाएर नयाँ नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

एन्फाको चुनावी साधारणसभा आज सोमबार बिहान नौ बजेदेखि सुरु हुँदैछ । काठमाडौं बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने साधारणसभाले आजै २१ सदस्यीय नयाँ कार्यसमिति छान्नेछ । आगामी चार वर्ष एन्फालाई नेतृत्व गर्ने टिमको नतिजा आजै साँझसम्ममा आउने छ ।