फाइल तस्वीर
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकको प्रवन्ध निर्देशकबीच आज अर्थमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालको विकासको साझेदार संस्था विश्व बैंकका प्रवन्ध निर्देशन मारी अल्का पान्जेस्तुबीच मन्त्रालयमा भएको हो ।

भेटका अवसरमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गर्नुभयो । विश्व बैंकका प्रवन्ध निर्देशकसँग कुरा गर्दै अर्थमन्त्री शर्माले ‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाका रूपमा रहिआएको बताउनु भयो ।

विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १२२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीयरूपमा बढ्दै गएकोप्रति खुसी व्यक्त गर्नुभयो ।

विश्व बैंकले नेपालसँग सन् १९६९ मा १६ दशमलब ९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट सहकार्य सुरु गरेको थियो । विश्व बैंक र नेपालबीच हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । भेटका अवसरमा केही महत्वपूर्ण आयोजना सम्झौताको चरणमा रहेको र हाल सञ्चालित आयोजना निक्कै महत्वपूर्ण र दूरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री शर्माले ‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजना समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’ भन्दै मन्त्रीशर्माले सो अवसरमा आर्थिक वर्ष २०७९÷८० को बजेट मूलतः आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रीत भएको समेत बताउनु भयो ।

विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेटमा समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकामा खुसी लागेको भन्दै नेपालको विकास साझेदारका रुपमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि वित्तीय सहयोगमार्फत् नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने जानकारी गराउनुभएको थियो ।