साङ्केतिक तस्वीर
काठमाडौं – साताको पहिलो दिन नेप्से परिसूचक घटेको छ । केही सातादेखि निरन्तर खस्किंदै गएको सेयर बजार थप ३७ अङ्कमाथिले घट्दै जाँदा नेप्से परिसूचक १९३४ दशमलब ११ अङ्कमा झरेको छ । यस्तै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत आज ७ दशमलब २९ अङ्कले घट्दै ३७३ दशमलब ८५ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार १३ वटै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३ दशमलब ८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३ दशमलब ६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३ दशमलब ५९ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, अन्य समूहको उपसूचक ३ दशमलब ६२ प्रतिशतले घटेको छ भने लगानीको उपसूचक २ दशमलब २७ प्रतिशतले घट्न पुगेको छ । असार १ गतेदेखि सातामा आइतबारको सार्वजनिक विदा कटौती भएसँगै आइतबारसहित शुक्रबार ६ दिन नै कारोबार हुन थालेको बजारमा पहिलो दिन ३७ दशमलब २७ प्रतिशतको गिरावट आएको हो । उसो त ३७ अङ्क माथिले घटेको बजारमा आज कारोबार रकम समेत १ अर्ब १३ करोड ४० लाखमा सीमित हुन पुगेको छ ।