साङ्केतिक तस्वीर
म्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो ।

जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले सात मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनले जिसस सदस्यहरुमा मनोनयन दर्ता नगरेकाले सदस्यहरुमा पनि एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

जिसस प्रमुखमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारका रुपमा मनकुमारी विक र उपप्रमुखमा माओवादीको तर्फबाट उपप्रमुखको उम्मेदवार सोहन श्रेष्ठले उम्मेदवारी दिनु भएको थियो । उहाँहरु दुवैलै ५ मत प्राप्त गर्दै एमालेसँग पराजित हुनुभएको छ ।
एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाईं (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुको भोmि सोमबार शपथग्रहण र पदभारग्रहणको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक मात्रै नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार रहेको थियो । एमालेको ७ मत, काङ्ग्रेस ३ र माओवादीको २ मतभार रहेको छ ।