फाइल तस्वीर

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमाथि पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्ध ‘विवेकहीन’ कदम हो भन्नुभएको छ । रुसी राष्ट्रपति पुटिनले सेन्ट पिटर्सबर्गमा आयोजित एउटा कार्यक्रममा बोल्दै अमेरिका र उसका सहयोगी युरोपेली मुलुकको चर्को आलोचना गर्नुभएको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा देशहरूले रुसविरुद्ध प्रतिबन्धलाई लगाउँदै आएका छन् । ‘सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनमिक फोरम’लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसमाथिको प्रतिबन्धका कारण (युरोपेली संघ) ईयूले चार सय अर्ब डलरभन्दा बढी घाटा बेहोर्न सक्ने दाबी समेत गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले ‘रुसविरुद्धको आर्थिक अभियान सुरुदेखि नै सफल हुने कुनै सम्भावना थिएन’ भन्दै त्यस्तो प्रतिबन्ध उनीहरुकै लागि पत्युत्पादक भएको बताउनु भएको छ । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्र सुरक्षित राख्ने प्रयासबीच सन्तुलन कायम गर्न खोजिरहेको समयमा राष्ट्रपति पुटिनको यस्तो भनाइ बाहिर आएको हो ।

उक्त कार्यक्रममा बोल्दै रुसी राष्ट्रपति पुटिनले ईयूका २७ सदस्य राष्ट्रमा महँगी बढ्दै गएको र युरोपमा मानिसको वास्तविक चासोलाई पन्छाइएको दावी समेत गर्नुभएको छ ।