साङ्केतिक तस्वीर
थाइल्याण्ड – थाइल्याण्ड सरकारले अनिवार्य माक्स लगाउनुपर्ने नियमहरू हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर न्यून भएसँगै सरकारले यसअघि लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको हो ।

कोरोना भाइरसको प्रकोपबाट सुरक्षित हुन भन्दै यस अघि घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने नियम बनाएको थियो । थाइ सरकारले पर्यटकहरूका लागि पनि केही खुकुलो बनाएको छ । पहिले यात्रा गर्नु अघि दर्ता गर्नु पर्ने प्रावधानलाई हटाउँदै पर्यटकहरुलाई आकर्षित गर्ने अभिप्रायले दर्ता गर्ने प्रक्रियालाई हटाएको समाचारमा जनाइएको छ । डेल्टा भेरियन्ट व्यापक रूपमा फैलिरहेका बेला सन् २०२१ को मध्यदेखि थाइल्यान्डमा सार्वजनिक रूपमा फेसमास्कहरू अनिवार्य गरिएको थियो ।

पर्यटनमा निर्भर थाइल्यान्डले विश्वभर महामारी कम हुँदै गएपछि पर्यटकहरुको सङ्ख्या बढाउनको लागि विस्तारै कोभिड प्रतिबन्धहरू खुकुलो बनाएको हो । यसअघि कम्बोडिया र सिंगापुरले पनि फेसमास्क लगाउनुपर्ने नियम हटाइएको थियो ।

थाई कोभिड टास्कफोर्सका प्रवक्ता तावीसिन भिसानुयोथिनले घरबारि बाहिर माक्स लगाउनु स्वैच्छिक हुने बताउँदै अझै भीडभाड हुने क्षेत्र, मनोरञ्जन स्थल र सार्वजनिक यातायातमा भने माक्स लगाउन सुझाव दिइएको छ ।

थाइ स्वास्थ्य मन्त्रालयले माक्स छुटको थप विवरणहरू घोषणा गर्ने प्रवक्ता तावीसिन भिसानुयोथिनले बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।