फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम पुनः सुरुभएको छ । नेपाली सेनाले जिम्मा लिएको उक्त द्रुतमार्ग निर्माणमा निर्माण गर्नुपर्ने सुरुङ खन्ने कामलाई सुचारु गर्न नेपाली सेनाल निर्देशन दिएपछि काम सुरु भएको हो ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले सुरुङको प्याकेज–१ र पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले प्याकेज–२ मा काम गरेका छन् । नेपाली सेनाले ठेक्का सम्झौताअनुरूप ठेकेदार कम्पनीहरुले सुरुङ खन्ने कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम गरेको भन्दै दुई हप्ताअघि ती कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा शर्तअनुसार उक्त कम्पनीले काम गर्न मञ्जुर भएपछि हिजो बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताउनु भयो ।

हिजोबाट दुवै प्याकेजमा सुरुङ खन्ने काम सुरु भएको छ । आयोजनाले नियुक्त गरेको परामर्शदाता कम्पनीले गरेको निर्माणाधीन सुरुङको निरीक्षण, कामको पुनरवलोकन तथा ठेकेदार कम्पनीसँगको छलफल र परामर्शपछि सुरुङ खन्ने काम पुनः सुरु भएको प्रवक्ता सिलवालले भन्नुभयो । आयोजनाले कोरियाली कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसन र कोरिया एक्सप्रेस–वे कर्पोरेसन एन्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट (संयुक्त) लाई परामर्शदाता नियुक्त गरेको छ ।

यसअघि गरिएको निरीक्षण तथा पुनरवलोकनमा सुरुङ खन्ने क्रममा ठेक्का सम्झौताअनुसारको उपकरण प्रयोग नभएको, कामको गुणस्तर नदेखिएकोलगायतका समस्या देखा परेकाले सुरुङको काम तत्काल रोक्न ठेकेदार कम्पनीलाई सेनाले निर्देशन दिएको थियो । प्रवक्ता सिलवालका अनुसार अहिलेसम्म सुरुङमार्गको पहिलो प्याकेजअन्तर्गत ३० मिटर र दोस्रो प्याकेजअन्तर्गत अहिलेसम्म २० मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङ निर्माण गर्ने कम्पनीले अहिले ठेक्का सम्झौताअनुसारको उपकरणको प्रयोग तथा गुणस्तरको काम गरेको प्रवक्ता सिलवालले जानकारी दिनुभयो ।