फाइल तस्वीर
टेक्सास– नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा पराजित भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा अमेरिकासँग ३९ रनले पराजित भएको हो ।

अमेरिकाको टेक्सस राज्यस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ दशमलब ४ ओभरमा अलआउट हुँदै २ सय ६ रनमै समेटिन पुग्दा पराजय भोग्न पुग्यो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाएका थिए भने आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेलले १० रनमा आउट भएका थिए । दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४, करण केसीले १ र कप्तान सन्दीप लामिछाने शून्य रन आउट हुन पुगेका थिए ।

नेपालका लागि छैठौं विकेटका लागि आरिफ र सोमपालले १ सय ६ रनको कीर्तिमानी साझेदारी गर्दै खेलमा पूनरागमन गराएका थिए । तर अन्तिम ७ रन जोड्दा पाँच विकेट गुमाएपछि नेपाल पराजित हुन पुग्यो ।
नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिएका थिए ।

त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । अमेरिका गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाए । सुशान्त मोदानीले ५४ रनको योगदान दिए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले समान ३–३ विकेट लिए । आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए । निसर्ग पटेल १८ रन अविजित रहँदा क्यामरून स्टेभेनसन १६ रनमा अविजित रहे ।

यो नतिजासँगै अमेरिका २४ खेलबाट २३ अङ्क जोड्दै चौंथो स्थानमा कायमै छ । पराजित नेपाल १६ खेलबाट १५ अङ्क जोड्दै पाँचौ स्थानमा रहेको छ । ओमान भने सबै ३६ खेलमा २१ जित र १३ मा हार व्यहोरेता पनि ४४ अङ्क जोड्दै शीर्ष स्थानमा छ । यता दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेल खेल्दा १३ मा जित र ५ मा हार व्यहोरेको छ । उसले २८ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । २० खेल खेलेको युएईले १२ मा जित र ८ मा हारसहित २६ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । सिरिज अन्तर्गत नै यस अघि नेपाल र अमेरिकाबीचको खेल ’टाइ’ भएको थियो ।