फाइल तस्वीर
हेटौडा — बागमती प्रदेश सरकारले आज बुधबार आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आगामी आ.व.को लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रदेशसभा बैठकमा पेश गरिएको बजेट अनुसार चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक मामिला मन्त्री जम्मकट्टेलले प्रदेश सरकारले खर्च व्यहोर्ने स्रोतहरुमा कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख रुपैयाँ, सङ्घीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख रुपैयाँ, प्रदेश सञ्चिति कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ प्रक्षेत्रण गर्नुभएको छ ।

यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशभित्रका नाङ्गा डाँडाहरूमा एकवर्ष भित्र १५ हजार विरुवा रोप्ने कार्यक्रम समेत रहेको बजेटमा उल्लेख गरिएको छ । उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला मन्त्री जम्मकट्टेलले आज सार्वजनिक गर्नुभएको बजेटमा मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको उल्लेख छ । प्रदेश सरकारले स्थानीय तहमा एक वडा एक स्वास्थ्य क्लिनिक योजना अघि बढाउन १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुमानित बजेटमा सरकारले चितवनको रत्ननगरमा आर्युवेदीक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशले चालु आर्थिक वर्षको बजेटभन्दा झण्डै १३ अर्ब रुपैयाँ बढाएर आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको बजेट महत्वाकाङ्क्षी देखिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।