कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभाको बैठकमा अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको हो ।


आगामी आर्थिक वर्षका लागि आज बुधबार प्रदेशसभा बैठकमा पेश गरिएको बजेटमा चालु आर्थिक वर्षकोभन्दा करिब ६ अर्ब रुपैयाँ बढी बजेट ल्याएका प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत् ७ अर्ब ९२ करोड रुपैयाँ, राजश्व बाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ् ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ, समपुरक अनुदानतर्फ ८३ करोड रुपौयाँ र विशेष अनुदानतर्फ ८६ करोड रुपैयाँ प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त हुने अनुमान गरिएको छ । अर्थमन्त्री रामजी बरालले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको बताउनु भएको थियो ।

आगामी आर्थिक वर्षको वार्षिक कार्यान्वयन गर्न २ अर्ब रुपैयाँ नपुग हुने देखिएको छ । चालु आर्थिक वर्षमा सरकारले ३० अर्ब ३ करोड रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये जेठ मसान्तसम्म करिब ४३ दशमलब ७९ प्रतिशत बजेट खर्च भएको छ ।

सरकारले यसै वर्ष हुने प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी बजेट ल्याएको छ । सरकारको नीति तथा कार्यक्रमबाट नै ठूला र दीर्घकालीन महत्व राख्ने कार्यक्रमभन्दा खुद्रे र लोकप्रिय कार्यक्रम ल्याएको थियो । सरकारले यो वर्ष स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन लगायतलाई जोड दिएको बजेटले देखाएको छ ।

सरकारले लिफ्टिङ खानेपानीमा नागरिकले तिर्दै आएको महसुललाई आगामी आर्थिक वर्षदेखि निःशुल्क बनाएको छ । अत्यावश्यकबाहेक यो वर्ष सवारी साधन खरिद नगर्ने अर्थमन्त्री बरालले बजेटमार्फत् घोषणा गर्नुभएको छ । यदि सवारी साधन खरिद नै गर्नुपरेको अवस्थामा गण्डकी प्रदेश सरकारले विद्युतीय गाडी खरिद गर्ने व्यवस्था गरिएको अर्थमन्त्री बरालले सार्वजनिक गर्नुभएको बजेटमा उल्लेख गरिएको छ ।