फाइल तस्वीर

काठमाडौं – सरकारले सरकार बारा जिल्लास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानदिंदै सो विमानस्थल बनाउनै पर्ने अवस्था रहेको जिकिर गर्नुभयो ।

मन्त्री आलेले ‘ निजगढ विमानस्थल बनाउन सरकार प्रतिवद्ध रहेको छ भन्दै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य यात्रु चापका कारण यसको विकल्प अविलम्ब खोज्नुपर्ने अवस्था छ’ भन्नुभयो । नागरिक उडड्यनमन्त्री आलेले सो विमानस्थल निर्माणका लागि २६ करोड रुपैयाँ बजेट न्यून भएको उल्लेख गर्दै अर्थ मन्त्रालयले थप बजेट निकासा गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

‘प्रस्तावित निजगढ विमानस्थलको निर्माणका लागि प्रारम्भिक लागत १ खर्ब २० अनुमान गरिएको छ । चालू आ.व. को नीति तथा कार्यक्रममा यस परियोजनाका लागि छुट्टयाइएको जम्मा २६ करोड न्यून बजेट हो । अर्थ मन्त्रालयले थप बजेट व्यवस्था गर्नेमा म आशावादी छु,’ मन्त्री आलेले प्रतिनिधिसभामा बोल्दै भन्नुभयो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका नाममा ८ हजार ५० हेक्टर जग्गा अधिग्रहण गर्नुको साथै सरकारले नेपाल नागरिक उड्ड्यन प्राधिकरणमार्फत् ३ अर्ब लगानी गरिसकेको पनि उहाँले बताउनु भयो । यो परियोजनासँग जोडिएको काठमाडौं– तराई द्रुत मार्गका लागि सरकारको दुई खर्ब लगानी भइसकेको छ । स्थानीयलाई मुआब्जाको केही रकम सरकारले वितरण गरिसकेको छ ।