फाइल तस्वीर
जनकपुरधाम – मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्दैछ । आज बुधबार दिउँसो ४ बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिकको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सरकारले चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरिएको छ । चालु आर्थिक वर्षकै आकारमा बजेट आउने उक्त प्रदेशको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री साहले विभिन्न कारणले सामान्यीकरण अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा चालु वर्षकोभन्दा कम वा सोही हाराहारीमा रकम विनियोजन हुने बताइएको छ ।

यसअघि अर्थमन्त्री साहले प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु अर्थात् प्रि–बजेटमाथि गत शुक्रबार नै पेस गर्नु भएको थियो ।

प्रि–बजेटका प्राथमिकतामा कृषी क्षेत्रको विकास, उद्योग प्रवद्र्धन, भौतिक पुर्वाधार निर्माण, सामाजिक क्षेत्र, पर्यटन क्षेत्र, सामाजिक सुरक्षा, सेवा प्रवाह र सुशासन राखिएको छ । विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकताको आधारमा तयार हुने बजेटले उच्च र फराकिलो आर्थिक वृद्धि दर हासिल गरी मधेश प्रदेशको समृद्धिमा योगदान पुग्ने अर्थमन्त्री साहले विश्वास व्यक्त गर्नुभएको थियो ।

जेठ १९ गतेदेखि मधेस प्रदेशसभाको नवौं अधिवेशन जारी रहेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३३ अर्ब ६६ करोड ४२ लाख ८४ हजार रूपैयाँको बजेट पारित गरेको थियो ।