फाइल तस्वीर
बुटवल – लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउन लागेको हो ।


गत वर्ष एमाले नेता शङ्कर पोखरेल नेतृत्वको सरकारले अध्यादेशमार्फत् ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । माओवादी नेतृत्वको गठबन्धन सरकारले उक्त सिलिङभन्दा करिब ५ अर्ब रुपैयाँ कमको बजेट ल्याउने बताएको भएता पनि आगामी प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी करिब ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको बताइएको छ ।

चालु आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेटमध्ये ३३ प्रतिशत चालु खर्च र ५५ प्रतिशत पुँजीगत खर्च थियो । बजेटको १५ प्रतिशत स्थानीय तहमा समानीकरण अनुदानमा थियो । सरकार फेरबदल भएपछि माओवादी नेतृत्वको गठबन्धनको सरकारले उक्त बजेट प्रतिस्थापन गर्ने गरी आकार घटबढ नगरी नयाँ बजेट ल्याएको थियो ।

चालु वर्षमा बजेट खर्च र राजश्व सङ्कलन लक्ष्य अनुरुप नभएको भन्दै प्रदेश योजना आयोगले पत्रकार सम्मेलनमै ३७ अर्ब रुपैयाँभन्दा माथिको बजेट नआउने दाबी गरेको थियो । तर बजेटको दायरा भने फराकिलो हुने भएको छ । यस प्रदेशमा चालु आ.व.को कुल बजेटको ३७ दशमलब ८४ प्रतिशतमात्रै बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

त्यसैगरी सरकारले आन्तरिक राजश्वतर्फ ७ अर्ब १६ करोड ५६ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर जेठ १५ गतेसम्ममा २ अर्ब ७ करोड ३३ लाख रुपैयाँ अर्थात् २८ प्रतिशत मात्रै प्रगति भएको देखिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कुरालाई पुनरावृत्ति गरिएको छ । यद्यपि, प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर–रोल्पा सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ ।