फाइल तस्वीर
काठमाडौं – नेपालले ओमानमाथि शानदार जित निकालेको छ । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खला अन्तर्गत भएको आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो ।

आसिफ शेख र कुशल भुर्तेलले ओपनिङमा कीर्तिमानी साझेदारी गरेपछि ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

लिग–२ मा सातौं जित निकालेको नेपाल १५ खेलबाट १५ अङ्क जोडेर पाँचौं स्थानमा उक्लेको छ । नेपालले आजै अमेरिकासँग श्रृङ्खलाको अन्तिम खेलमा खेल्दैछ ।

आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । नेपालले ओपनिङका लागि एकदिवसियमा गरेको यो नै ठूलो साझेदारी हो । यसअघि आसिफ र कुशलले नै गत वर्ष ओमानमा अमेरिका विरुद्ध पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

नेपालले पहिलो जित निकाल्दा आसिफले ८६ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा ६२ रन बनाउँदा कुशलले ७५ बल खेल्दै ५ चौका मद्दतमा ५६ रन जोडे । देव खनाल १० रन बनाएर आउट हँुदा रोहित पौडेलले अविजित २६ रन बनाउन सफल भए ।

खेलमा प्रतिद्वन्द्वी टिम ओमानका फयज बटले २ तथा खावर अलीले १ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६ दशमलब १ ओभरमा सबै विकेट गुमाएर १६३ रनमा अलआउट भएको थियो ।

ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै सन्दिप गौडले४७ रन जोडे । ४९ रनमा ५ विकेट गुमाएको अवस्थामा मक्सुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । यस्तै ओपनर जतिन्दर सिंहले २३ र नसिम खुशीले १० रन जोडे । फयज बट १३ रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनले पहिलो खेलमा ओमान विरुद्ध नै ५ विकेट लिएका थिए । यस्तै कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिन सफल भएका थिए ।