फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नु भएको हो ।

बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताउनु भएको छ ।

आजको संसद बैठकको सुरुमै बोल्दै सांसद पाण्डेले ‘यति गम्भीर विषयमा प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नको लागि सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ ? यसको जवाफ संसदलाई चाहियो’ भनेर माग गर्नुभएको छ ।

‘करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रिय सुरक्षा जस्तै विषय हो, राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयताहरु बाहिर सार्वजनिक गर्ने, अझ गोपनीयताहरुमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता कुराहरु गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ । मन्त्रीले नैतिक हिसाबले त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्दछ’ – एमाले सांसद पाण्डेको भनाइ थियो ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले यस विषयमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउँदै ‘यति गम्भीर विषयमा प्रधानमन्त्री जवाफदेही हुनु पर्दछ कि पर्दैन ? यो केबल अर्थमन्त्रीको मात्र विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहियो भनि माग गर्नुभयो ।

बजेटमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ विषय कार्यसूचीबाटै हटाउन समेत एमालेले माग गरेको छ । बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले ‘यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि फेरि हामी नेकपा एमालेको तर्फबाट उहाँका (अर्थमन्त्रीका) जवाफहरु सुन्न र उहाँको यो विषयमा छलफल गर्न बिल्कुलै तयार छैनौं । आजको कार्यसूचीबाट यो हटाइयोस् । त्यसपछि मात्रै हामी अरु मन्त्रालयसँग सम्बन्धित कुरामा छलफल गरौंला’– भन्नुभयो ।

एमाले प्रमुख सचेतक भट्टराईको भनाइपछि सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली काङग्रेसका सांसद सञ्जयकुमार गौतमलाई बोल्ने समय दिनुभयो ।