साङ्केतिक फाइल तस्वीर
सुर्खेत– सुर्खेतमा चार दिनदेखि पेट्रोलको अभाव भएको छ । सुर्खेतमा रहेका पाँचवटा आयल स्टोरहरुमा बिहानैदेखि मोटरसाइकल, स्कुटरसवारी साधनमा पेट्रोल हाल्नका लागि उपभोक्ताहरुको लामो लाइन लागेको छ ।

नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँके भने तेलको आपूर्ति सहज बन्दै गएको बताए पनि अझै सहज बनेको छैन । हिजो सोमबार अपराह्न २० हजार लिटर पेट्रोल आयल स्टोरहरुलाई उपलब्ध गराइएको इन्धन डिपो कार्यालयले बनाएको छ ।

वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोलपम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमबार नै सकिएको थियो । प्रहरीले इण्डियन आयल कर्पोरेशनद्वारा नयाँ ‘एक्जिम कोड’ लागू गर्दै इन्धन बोकेका ट्याङ्करलाई नेपाल–भारत सीमा रुपैडियामा रोकेपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो ।

नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दीपकप्रसाद घिमिरेले भन्सार प्रक्रियाको कारण रोकिएका ट्याङ्कर म्यानुअल प्रणालीबाट छुट्ने क्रम सुरु भएको बताउनु हुन्छ । प्रमुख घिमिरेका अनुसार बाँकी ट्याङ्कर पनि छुटाउने प्रक्रिया चलिरहेको छ । नेपालका लागि छुटेका ट्याङ्करमध्ये ६० हजार लिटर पेट्रोल मङ्गलबार अपराह्नसम्म सुर्खेत पठाउने तयारी भैरहेको उहाँ बताउनु हुन्छ ।

भारत सरकारले प्रयोगमा ल्याएको नयाँ भन्सार सफ्टवेयरमा ‘एक्जिट कोड’ र ‘इम्र्पोट एक्सर्पोट कोड’अनुसार बैंक खातामा प्रविष्ट गर्नुपर्ने कारण भारतबाट निर्यात हुने मुलुकमा पेट्रोलियम पदार्थको ढुवानी प्रभावित भएको हो । सोमबार साँझ ९ बजे म्यानुअल प्रणालीबाट रुपैडिया भन्सार नाकाबाट ५० हजार लिटर पेट्रोल, एक लाख २० हजार लिटर डिजेल र ८० हजार लिटर हवाई इन्धन आयात भएको नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेले जनाएको छ ।