फाइल तस्वीर


कास्की – गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम पास भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

जेठ २४ गते गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभासमक्ष प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभामा नीति तथा कार्यक्रम पेश भएपछि त्यसमाथि प्रदेशसभाका सांसदहरुले छलफलका क्रममा उठाएका प्रश्नहरुको जवाफ दिंदै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षका नेतासहित प्रदेशसभा सदस्यबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धि र विकासका लागि नै सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेत सम्बोधन गर्दै प्रदेशका सोच तथा दृष्टिकोण मूलत नेपालको संविधान, १५ औं आवधिक योजना, दीगो विकास लक्ष्य र प्रदेशवासीको विकास, चाहना तथा राजनीतिक दलको विकास प्रतिबद्धता तथा प्रदेशसभाको मार्गदर्शन बमोजिम तय भएको बताउनुभयो ।

कोभिड महामारीले थला पारेको आर्थिक र सामाजिक जीवनलाई सहज बनाउनेतर्फ प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले जोड दिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले दशकौंदेखिको सङ्घर्षबाट पा्रप्त सङ्घीयताको मूल आधार प्रदेश सरकार भएको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले प्रदेश स्थापनाको छोटो समयमा सङ्घीयताको सवलीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताको विकासको आवश्यकताको सम्बोधनलगायतमा उल्लेख्य उपलब्धी प्राप्त गरेको दावी समेत गर्नुभयो ।

सङ्घ र स्थानीय सरकारको बीचमा रहेर समन्वयकारी भूमिकासँगै जनतालाई सेवा प्रवाह गर्ने सवालमा महत्वपूर्ण फड्को मारेको उहाँको भनाई थियो । कोभिडपछि नागरिक जनजीवन साथै आर्थिक गतिविधिले पुनःलय समातेको भन्दै मुख्यमन्त्री पोखरेलले सेवा उद्योगले विस्तारै पुर्नजीवन पाउँदै गरेको बताउनुभयो । सहकारिता, सहअस्तित्व र समन्वयको भावनालाई आत्मसात् गर्दै तीन तहका सरकारबीचको अन्तर सम्बन्धलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याइएको मुख्यमन्त्रीको दावी छ ।

सरकारको एकल प्रयासमा मात्र समृद्धि सम्भव नहुने कुरालाई दृष्टिगत गर्दै नीति तथा कार्यक्रममा निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिइएको उहाँले बताउनुभयो । सहकारीलाई पनि आर्थिक समृद्धिको साझेदारका रुपमा राखिएको उहाँले बताउनुभयो ।

स्वास्थ्यमा बालबालिका किशोरी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरणसँगै आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने विषयमा सरकारले जोड दिएको उहाँको भनाइ थियो । उत्पादन तथा उत्पादकत्व वृद्धिसँगै यसलाई बजारसँग जोड्ने गरी कार्यक्रम अघि सारिएको बताउँदै उहाँले जलवायुमैत्री नमूना कृषि गाउँलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

अघिल्लो सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै गण्डकीलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटनको राजधानी बनाउन सङ्घ सरकारलाई आग्रह गरिएको भन्दै प्रदेशका लगानी भित्र्याउनका लागि लगानी सम्मेलन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको उल्लेखप गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको गौरवका आयोजनाहरुमध्ये उत्तर दक्षिण द्रुतमार्ग अन्तर्गतको भिमाद, डेढगाउँ, झ्यालवास, चोरमारा, दुम्कीवास, त्रिवेणीखण्ड आयोजनालाई आगामी दुई वर्षमा पूरा गर्ने एवम् शालिग्राम करिडोर र बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।