फाइल तस्वीर
सुनसरी – इटहरी उमहानगरपालिकाको जुट विकास टोल बस्तीको एक घरमा पसेको चितुवालाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो उक्त चितुवा स्थानीयबासिन्दाको घरमा पसेपछि चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो ।

चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए । घरमा चितुवा पसेको जानकारी गराएपछि जिल्ला प्रशासन सुनसरीले चितुवालाई नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको थियो । चितुवालाई नियन्त्रणमा लिएपछि अहिले त्यहाँको जनजीवन सामान्य बनेको छ । सकुशल उद्धार गरिएको चितुवालाई सुनसरीको इनरूवास्थित डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।