काठमाडौं – नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आज सोमबारदेखि रोक्का गरेको छ । यी दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीच २७ जेठमा १००ः९० सेयर स्वाप अनुपातमा एकआपसमा गाभ्ने–गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै नेप्सेले दुवै कम्पनीको धितोपत्र कारोबार आजदेखि रोक्का गरेको हो । नेपाल इन्भेस्टमेन्ट बैंकको भने यसअघि हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भङ्ग भएपछि सम्झौता कारण एक वर्षपछि सेयर कारोबार खुला भएको थियो ।

दुई बैंकले आज ३० जेठको पत्रअनुसार मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको बताइएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ति–एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) वमोजिम मेगा बैंक नेपाल लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको सेयर कारोबार ३० जेठबाट रोक्का राखिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिनुभयो ।