फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काङ्ग्रेसको एकलौटी नभएकाले बताउनु भएको छ । राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काङ्ग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाले काङ्ग्रेसको एकलौटी सरकार नभएकोले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनु भयो । नेपाल ट्रेड युनियन काङग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको दावी समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले ‘एउटा कुरा के बुझ्नुप¥यो भने तपाईंहरूले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरूले यो धेरै दाबी गर्ने कुरा छैन । अरू कतिपय तपाईंहरूले अति महत्वपूर्ण कुराहरू उठाउनुभएको छ । कतिपय बजेटमा आएका छन । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं’ भन्नुभयो ।

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको प्रति चिन्ता व्यक्र गर्दै प्रधानमन्त्री देउवाले यस्तो अवस्थामा श्रमिकहरूको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । नेपालको संविधान र कानुनले श्रमिकहरूको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै सभापति देउवाले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।