तनहुँ – चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते उक्त बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

चितुवाको दुईवटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको र बालिकाको अवस्था खतरामुक्त रहेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । घाइते बालिकाको डा. महेश विक नेतृत्वमा उपचार भइरहेको छ । बुबाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको र बुबाआमा दौडिएर आउनेबित्तिकै चितुवा भागेको जनाइएको छ ।

पछिल्लो केही वर्षयता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ । रासस