काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४ दशमलव ६४ प्रतिशतले घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ११ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ८४ अङ्कले र सेन्सेटिभ इण्डेक्स १ दशमलव २२ अङ्कले घटेको छ ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ । बिहीवार १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । शुक्रवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । त्यसमध्ये सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २ दशमलव ०२ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि सबै भन्दा कम ० दशमलव ३० प्रतिशतले घटेको छ ।

नेप्से सूचक दोहोरो अङ्कले घटेपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ग्रीन भेन्चर्स लिमिटेड, उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यता सामुदायिक लघुवित्त र युनिलिभर नेपालको शेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमको आधारमा ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको पनि ४ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।