साङ्केतिक तस्वीर


काठमाडौं – नेप्से परिसूचक आज बुधबार उच्च अङ्कले वृद्धि भएको छ । एक हप्ता अघिदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्पेमा आज केही सुधार आएको हो ।

बुधबार नेप्से परिसूचक ६० दशमलब २२ अङ्कले बढेर २०८० दशमलब ४४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११ दशमलब २५ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ४ दशमलब १५ अङ्क र सेन्सेटिभ इण्डेक्स ३ दशमलब ८० अङ्कले बढेको छ ।

आज कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको छ । मङगलबार १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५ दशमलब ०३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढीले शेयर मूल्यवृद्धि भएको छ भने लगानी र बैंक उपसमूहको परिसूचक भने २ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्से परिसूचकसँगै ४ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर माउण्टेन हाइड्रो नेपालको शेयरमूल्य भने ४ दशमलब ११ प्रतिशतले घटेको छ । आज भएको कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर ५ करोडभन्दा बढीको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ ।