फाइल तस्वीर


काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा आज बुधबार पनि स्थानीयले अवरोध खडा गरेका छन् । काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेका ट्रकलाई स्थानीयले अवरोध गरेपछि त्यहाँको वातावरण तनावपूर्ण बन्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मङ्गलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन् । स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि हो । प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । हिजो पनि उक्त स्थानमा स्थानीय र प्रहरीबीच तनाव उत्पन्न भएको थियो । हिजो सुरक्षाकर्मीले बल प्रयोग गरेर फोहोर विसर्जन गरिएको थियो ।

अवरोध गरिरहेका स्थानीयलाई हटाउन प्रहरी परिचालन गरिएपछि झडप हुँदा स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । काठमाडौंको फोहोर व्यवस्थापनको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरुले समेत प्रश्न उठाएका छन् ।