फाइल तस्वीर
जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ । जनकपुर पुग्नुभएका अध्यक्ष यादवले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनसङ्ख्याको आधारमा मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः निर्धारण गर्नुपर्ने बताउनु भएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले जुन समयमा संसदको निर्वाचन क्षेत्र निर्धारण भएको हो, सोही अनुसार सङ्घीय निर्वाचन क्षेत्र निर्धारण भएकोले सङ्घीय र प्रदेशको निर्वाचन अघि मधेस प्रदेशका निर्वाचन क्षेत्रलाई पुनः निर्धारण गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भएको छ ।

अध्यक्ष यादवले ‘अहिलेको जनगणनाको रिपोर्टअनुसार तराईमधेसको जनसङ्ख्या ५३ प्रतिशत छ । तर प्रतिनिधिसभाको क्षेत्र त्यही छ जुन ४६ प्रतिशत हुँदा थियो भन्दै अब ५३ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्नका लागि सोही अनुसारको निर्वाचन क्षेत्र बनाउनु प¥यो । पहिला रिभ्यु गरौं र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौं । हामीले यही भनिरहेका छौं’ भन्नुभयो ।

अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली नै त्रुटिपूर्ण रहेको भन्दै निर्वाचन अत्यधिक खर्चिलो रहेको बताउनु भयो । प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली समेत त्रुटिपूर्ण रहेको उहाँको भनाइ थियो ।

उनले विश्वका ७१ मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र त्यहाँ जातिवाद, पावर केहीको आभास नरहेको भन्दै नेपालजस्तो गरिब मुलुकमा विकृतिमुलक र महँगो निर्वाचनले आउने दिनमा जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जाने उल्लेख गर्नुभयो ।

सोही अवसरमा बोल्दै अध्यक्ष यादवले वर्तमान पाँच दलीय गठबन्धनबाट नै सङ्घीय र प्रदेशको निर्वाचनमा जाने र यो गठबन्धन कायमै रहने पनि दावी गर्नुभयो ।

सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिंदै अध्यक्ष यादवले मधेसका मुद्दाका निम्ति मधेसवादी दलहरु मिलेर जानु पर्ने भन्दै लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी मिलेर जानसक्ने धारणा राख्नुभयो ।