फाइल तस्वीर
सप्तरी – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनु भएको छ । अध्यक्ष नेपालले उक्त धारणा राजविराज विमानस्थलमा पत्रकारहरुसँगको कुराकारीका क्रममा व्यक्त गर्नुभएको हो ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मङ्गलबार सप्तरी पुग्नुभएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय माग्नुभएकोले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनु भएको छ । ‘त्यो नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु’– अध्यक्ष नेपालले भन्नुभयो ।

सत्ता गठबन्धनको बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निर्णय भएसँगै तत्कालका लागि पुनर्गठन गर्ने काम रोकिएको थियो । संसद्बाट बजेट पास भएपछि सरकार पुनर्गठन हुने सम्भावना भएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउँदै ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनु पर्नेछ । त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो’ भन्नुभयो ।

गठबन्धनका बारेमा सोधिएको प्रश्नमा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने अगाडि बढिरहने बताउनु भयो । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका निम्ति उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गठबन्धनमा छलफल हुने अध्यक्ष नेपालको भनाइ थियोे । उहाँले भन्नुभयो ‘गठबन्धनका सबै घटक छलफल अघि बढाउनुपर्नेमा तयार छन् ।’