फाइल तस्वीर


काठमाडौं – एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेत पुगेर प्रतियोगिताको लागि प्रशिक्षणमा जुटेको छ ।नेपाली टिमले कुवेत सिटीको अहमादीस्थित अल शवाव रङ्गशालामा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो ।

नेपाली टिमले केही समय कतारको दोहामा अभ्यास पूरा गर्दै कुवेत प्रस्थान गरेको थियो । कुवेत पुगेको नेपाली टिमले यस अघि कतारमा अभ्यासका रुपमा चिरपरिचित श्रीलङ्कली टिम, ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले अभ्यास खेलमा श्रीलङ्काली टिमसँङ्ग १–१ गोल र टिमोरसँग २–२ गोलको बराबरी नतिजा निकालेको थियो भने ओमानसँग २–० गोलको अन्तरले हार व्यहोरेको थियो ।

यी तीन टिमसँग मैत्रीपूर्ण खेल खेलेको नेपाली टिम शनिबार कुवेत पुगेको हो । नेपालले हिजो र आज सोमबार गरी दुई दिन अल शवाव रङ्गशालामा अभ्यास गर्नेछ । स्थानीय समयअनुसार ७ बजे सुरु हुने अभ्यासमा नेपाली समर्थकलाई आफ्नो राष्ट्रको अभ्यास सत्र हेर्न प्रवेश दिने प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बताएका छन् ।

समूह ‘ए’ मा रहेको नेपालल एएफसी एसियन कप २०२३ छनोटका लागि जेठ २५ गते बुधबार जोर्डनसँग, २८ गते शनिबार घरेलु टिम कुवेतसँग र जेठ ३१ गते मङ्गलबार इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । नेपाली टोलीमा अधिकांश नयाँ युवा खेलाडीहरु रहेका छन् । नौ जना अफिसियल र २३ जना खेलाडी यतिखेर कुवेतमा रहेका छन् ।