काठमाडौं – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५ दशमलव ०८ अङ्कले गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३ दशमलव ७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार दिन शुक्रवारसम्म १४५ दशमलव ०८ अङ्कले घटेर २०७८ दशमलव ७० बिन्दुमा झरेको हो ।

शेयर बजार लोमो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अङ्क नजिक पुगेको नेप्से इन्डेक्स करिव ११२० अङ्कले गिरावट आएर २०७८/७० अङ्कको बिन्दुमा झरेको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानीयोग्य रकम (तरलता) को अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको ४/१२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ । लगानी कर्ताहरुले आन्दोलनदेखि ४÷१२ करोडको व्यवस्थालाई संशोधन गर्न बारम्बार अर्थमन्त्री तथा राष्ट्र बैंकसँग माग गर्दै आएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा ४/१२ नीति हटाउन माग गरे पनि सरकारले शेयर लगानी कर्ताको माग सुनुवाइ भएको देखिएको छैन । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि शेयर बजारमा सुधार आउने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट शेयर बजार मैत्री नदेखिएसँगै बजार भारी अङ्कले घट्दै गएको छ । सातामा पाँच दिन भएको कारोवारमा पाँचै दिन नेप्सेमा गिरावट आएको छ ।

जेठ १५ गते अर्थमन्त्रीले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटपछि अर्थात् साताको पहिलो कोरोवारका दिन सोमवार नेप्से परिसूचक ४५ दशमलव ०९ अङ्क घटेर २१७८ दशमलव ६९ बिन्दुमा झरेको थियो । उक्त दिन कारोबारमा आएका २२७ कम्पनीको ३ लाख ५६ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३५ दशमलव ५३ अङ्कले घटेर २१३७ दशमलव ९२ बिन्दुमा झरेको थियो ।

मङ्गलवार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको थियो । मङ्गलवार कारोवारमा आएका २२९ कम्पनीको लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको ३७ खरिदबिक्री भएको थियो । बुधवार पनि नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको थियो । बुधवार कारोबारमा आएका २२७ कम्पनीको ३० लाख २० हजार कित्ता शेयर १ अर्ब ७ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै, बिहीवार शेयर बजार मापन गर्ने सूचक १८ दशमलव २६ अङ्कले घटेर परिसूचक २११२ दशमलव ४७ बिन्दु झरेको थियो । बिहीवार कारोबारमा आएका २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता सेयर १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँको सेयर किनबेच भएको थियो । साताको अन्तिम कारोबार दिन नेप्से ३३ दशमलव ७६ अङ्कले घटेर २०७८ दशमलव ७० बिन्दुमा झरेको छ । शुक्रवार कारोबारमा आएका २२६ कम्पनीको ३८ लाख ४८ हजार कित्ता शेयर १ अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

त्यस्तै, नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण २ खर्बभन्दा बढी घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब ५९ अर्बमा सिमित भएको छ ।