साङ्केतिक फाइल तस्वीर
काठमाडौं – सरकारले असार ९ गते बिहीबारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई दुई चरणमा खोप लगाउने कार्य तय भएको बताउनु भएको छ । स्वास्थ्य मन्त्री खतिवडाका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही उमेरसमूहलाई साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन गरिने छ । बाँकी रहेका ५० वटा जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरिने छ ।

खोप सुरक्षित र प्रभावकारी भएकोले सबै अभिभावकलाई निर्धक भएर बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्यमन्त्री खतिवडाले आग्रह गर्नु भएको छ ।

बालबालिकाहरुलाई खोप लगाउन सरकारले विद्यालयमानै खोप केन्द्र तोकेको छ । यसको लागि सङ्घदेखि स्थानीय तहसम्म खोप कार्यक्रम सञ्चालन गर्न युएस आइडिले सहयोग गरेको मन्त्री खतिवडाले बताउनुभयो ।

अमेरिकी सरकारको सहयोगमा कोभ्यास सुविधाअन्तर्गत ८४ लाख फाइजर खोप नेपाल आउने स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो । खोप सल्लाहकार समितिको सिफारिसपछि नेपालमा बालबालिकाहरुको लागि खोप दिने प्रक्रिया अगाडि बढेको थियो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म चार करोड ३४ लाख ४६ हजार ५०८ मात्रा खोप लगाएका छन् । जसमध्ये एक करोड ९० लाख २९ हजार ३३९ जनाले एकमात्रा र एक करोड ९९ लाख दुई हजार ५५ जनाले पूर्णमात्रा खोप लगाएका छन् । यसैगरी, ४५ लाख १५ हजार ११४ जनाले अतिरिक्तमात्र खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले १२ वर्षका नागरिकलाई निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएको छ । कोरोना भाइरसको पूर्ण खोप लगाएको तीन महिना पुगेकाहरुलाई अतिरिक्त मात्रा खोप लगाउन समेत सरकारले आग्रह गरेको छ ।