साङ्केतिक तस्वीर
हेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित एक परीक्षा केन्द्रमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौंथो तहको परीक्षामा महोत्तरीका अभयकुमार यादव नामबाट परीक्षा दिएका पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बस्ताकोटीको साथबाट ५८ हजार ५ सय रुपैंयाँ, ४ जनाको नागरिकता, दुईवटा मोवाइल फोन र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिईहेको मोटरसाइकलको सवारी चालक अनुमपति पत्रको परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । गौतमका बाबुछोरा दुवैलाई आवश्यक अनुसन्धान लागि पक्राउ गरी अनुसन्धान गरिरहेकोे छ ।