फाइल तस्वीर
तनहुँ – पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त खण्डको सडक चौडा गर्ने काम भैरहेको हुँदा सवारी आवागमले सडक विस्तार गर्ने कार्यले गति लिन नसकेको हुँदा दैनिक पाँच घण्टा सडक बन्द गरेको मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन लागिएको हो ।

तनहुँको याम्पाफाँटदेखि घाँसीकुवासम्मको सडकखण्डमा अहिले सडक चौडा गर्र्ने काम भैरहेको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनको बनाउने काम सुरु भैरहेको छ । मुग्लिङ–पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार याम्पाफाँटदेखि घाँसीकुवासम्मको सडक खण्ड जेठ २२ गतेदेखि विस्तार गर्न लागिएको छ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम गर्न लागिएको आयोजना प्रमुख सुवेदीले जानकारी गराउनु भयो ।

आयोजनाले एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म याम्पाफाँटदेखि घाँसीकुवासम्मको सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ । नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो ।

वि.सं. २०२६ मा रेखाङ्कन भएको उक्त सडक खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चाक्लो पारी चार लेनको बनाउन लागिएको छ । उक्त सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्ने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा ४१ मिटरको सडक बन्नेछ भने दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्मको सडकखण्डमा सडकको चौडाइ ४६ मिटरको हुने बताइएको छ । मुग्लिङ–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल पनि निर्माण गर्ने आयोजनाले जनाएको छ । तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा चार लेनको सडक बन्नेछ भने ३१ वटा नयाँ पुल पनि निर्माण गरिने भएको छ ।