फाइल तस्वीर
हेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि एमालेका ७ जना, नेमकिपाका १ जना र विवेकशिल साझा पार्टीका १ जना गरी ९ जना प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

बिहीबार बिहान ८ बजे बसेको प्रदेशसभाको बैठक सुरु भए लगतै एमालेले अवरोध गरेपछि केही समय प्रदेशसभाको बैठक अवरुद्ध हुन पुगेको थियो । आज एकैदिन प्रदेशसभाको मात्र ३ वटा बैठक बसेर सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बसेको प्रदेशसभाको बैठकमा एमालेका सांसदहरुले कार्यविधि मिचेर अनुदान कार्यक्रम आफ्नालाई दिन कर्मचारीलाई दवाव दिएको र आफू अनुकुल काम नगरेको भन्दै केही कर्मचारीलाई सरुवा गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका विरोध गरेपछि बैठक स्थगित भएको थियो ।

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको मिलेमतोमा कृषि अनुदान आफ्ना मान्छेलाई कार्यविधि विपरित सरुवा गरेको भन्दै एमालेले प्रदेशसभा बैठक नै चल्न नदिएर अवरुद्ध गरेको थियो । प्रदेशसभा चल्न नदिए पछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ १० मिनेटको लागि सदन रोक्दै निकासको बाटो निकाल्न तत्काल सर्वदलीय बैठक डाक्नु भएको थियो । सर्वदलीय बैठकबाट सहमती जुटेपछि १० मिनेटका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक करिव २ घण्टापछि बैठक पुनः सञ्चालन भयो र सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठक सुचारु भएपति प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि ३१ जना सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । सांसदहरुले धारणा राखेपछि प्रदेशसभा बैठकको अध्यक्षता गर्नुभएकी उपसभामुख राधिका तामाङले प्रदेशसभाको पुनः एक घण्टाको लागि बैठक स्थगित गर्नुभएको थियो ।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको नीति तथा कार्यक्रममा प्रतिपक्ष दल र सांसदहरुले दिनुभएको रचनात्मक सुझावहरूलाई आगामी दिनमा समेटेर बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सरकारको नीति तथा कार्यक्रम पारित भए लगत्तै प्रदेशसभाका सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते मङ्गलबार दिउँसो २ बजेका लागि बोलाउनु भएको छ । जेठ ३१ गते हुने बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव पेश हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।