फाइल तस्वीर
सुर्खेत – आठ महिना अघि नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकीकरण वा गठबन्धनको कुनै सम्भावना नभएको बताउनु भएको छ । अध्यक्ष नेपालले आज बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै तत्काल एमालेसँग एकीकरण वा गठबन्धन हुने कुनै सम्भावना नरहेको बताउनु भएका हो ।


सञ्चारकर्मीहरुले ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलिरहेको छ नि’ भन्ने प्रश्नको जवाफ दिंदै अध्यक्ष नेपालले तत्काल दुवै सम्भावना छैन भन्नुभयो । नेता नेपालले एमालेलाई दक्षिणपन्थीको आरोप लगाउँदै, सत्तारुढ दलहरूको गठबन्धन नै वाम गठबन्धन भएको जिकिर गर्नुभयो । अहिलेको गठबन्धन टुट्ने कुनै सम्भावना नरहेको भन्दै काङ्ग्रेसप्रति इंकित गर्दै अध्यक्ष नेपालले धेरै अहङ्कार राखे भस्म हुने चेतावनी समेत दिनुभयो ।


गठबन्धनको चर्को विरोध गर्दै आएका नेपाली काङ्ग्रेसको संस्थापन इतरका केही नेताहरुले स्थानीय तहको निर्वाचनको परिणामबाट हौसिंदै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन गरेर जान नहुने भनिरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्वयले काङ्ग्रेसलाई अहङ्कारी नबन्न आग्रह गर्नुभएको छ ।