फाइल तस्वीर
काठमाडौं – भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई विक्री गर्दै आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची हिजो साँझ नेपाल आयल निगमले प्राप्त गरेको हो ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुची अनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर रु. २०२।९३ पैसा र डिजेलको लागत मूल्य प्रतिलिटर रु. १८२।७३ रुपैयाँ कायम भएको छ । हाल निगमले पेट्रोल र डिजेल क्रमश प्रतिलिटर रु. १८०।– र रु. १६३।– मा बिक्री गर्दै आएको छ । अहिले निगमले विक्री गर्दै आएको पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा र र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको जनाएको छ । यसबाट निगमलाई १५ दिनमा पेट्रोलबाट ६६ करोड ९८ लाख र डिजेलबाट १ अर्ब २९ करोड ९४ लाख घाटा भएको जनाएको छ ।

नयाँ मूल्य सुची अनुसार खान पकाउने ग्यासको लागत मूल्य प्रतिसिलिन्डर रु. २,५५१।१५ पैसा कायम भएको छ भने बिक्री मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ छ । यसबाट निगमलाई प्रतिसिलिन्डर रु. ७५१।१४ पैसा घाटा रहेको छ । ग्यासबाट १५ दिनमा १ अर्ब ४३ करोड घाटा हुने निगमको भनाइ छ ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ सुची अनुसार निगमलाई पेट्रोलमा रु.२२।९३ पैसा, डिजेलमा रु. १९।७३ पैसा, एल.पी.ग्यासमा प्रति सिलिण्डरमा रु.७५१।१४ घाटा तथा हवाई इन्धन र मट्टितेलमा केही नाफा रहि हाल समग्रमा निगमलाई आगामी १५ दिनमा निम्न बमोजिम करिब रु.३ अर्ब ७.५ करोड (मासिक रु.६ अर्व १५ करोड घाटा हुने स्थिति देखिएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन लिमिटेडलाई मे महिनामा पेट्रोलियम पदार्थ खरिद वापतको रकम रु. ४३ अर्व भुक्तानी गर्नु पर्नेमा सम्झौता मुताविक भुक्तानी गर्न नसकी २३ मे, २०२२ सम्म रु. २२ अर्व ४० करोड बक्यौता कायम हुन पुगेको र पछिल्लो समय केही थप भुक्तानी दिएपछि अझै रु. १६ अर्व भुक्तानी दिन बाँकी रही बक्यौता कायम नै रहेको छ ।

निगमले जुन महिनाको लागि पहिलो किस्ता वापत रु. १६ अर्व र बाँकी बक्यौता बापतको अर्को रु. १६ अर्व गरी जम्मा रु. ३२ अर्व आगामी जुन ८ तारिखमा भुक्तानी गर्नु पर्नेछ । तर यस अवधिमा ईन्धन विक्री वापत संकलन हुने रकमबाट करिव रु. १० अर्ब मात्र भुक्तानी दिन सक्ने स्थिति देखिएको छ । निगमका अनुसार यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा निगमलाई करिव रु. ४७ अर्व नोक्सानी भइसकेको र असार मसान्तसम्ममा झण्डै रु.६० अर्व नोक्सान हुने स्थिति देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रालियम पदार्थको मूल्य नघट्ने र यहि विन्दूमा स्थिर रहने हो भने पेट्रोलियम पदार्थको आपूर्ति तथा विकी वितरण सहज वनाइ राख्नका लागि पेट्रोल, डिजेल र एल. पी. ग्यासको खुद्रा विक्री मूल्य लागत सरह नै हुने गरी कायम गर्नुपर्ने स्थिति रहेको निगमले जनाएको छ ।