फाइल तस्वीर
काठमाडौं – आइतबार भएको तारा एअरको विमान दुर्घटनापरी निधन भएका प्रत्येक मृतकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम पाउने छन् । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने छन् । आजको मितिमा एक अमेरिकन डलरको सटही दर १२४ रुपैयाँ रहेको कारण प्रतिमृतक उनका परिवारले करिब २५ लाख रुपैयाँ पाउनेछन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नेछन् ।

हवाई दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको बदलिंदो परिवेशमा बीमा रकम ज्यादै न्यूनभएको आवाज उठिरहेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि बीमा रकम बढाउने सम्बन्धमा छुट्टै कानुन बनाउन गृहकार्य भैरहेको नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी गराउनु भयो । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर छ ।

नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्ष वितिसक्दा पनि अहिलेसम्म बीमाको रकम बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रतियात्रु १ लाख डलरभन्दा बढीको बीमा हुन्छ । अहिले नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (मोन्ट्रियल महासन्धि)को आधारमा बीमा रकम १ लाख डलरभन्दा बढी रहेको सहसचिव लामिछानेले बताउनु भयो ।