फाइल तस्वीर


काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले सुरुङमार्ग मार्फत् सुन्दरीजलमा पठान्तरण गर्नेकाम रोकिएको छ । वर्षात्को समयलाई ध्यान दिंदै सम्भावित दुर्घटनाबाट जोगिनका लागि सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको हो ।

पठान्तरणको काम रोकिएसँगै काठमाडौंमा हाल वितरण भैरहेको मेलम्चीको पानी आउन बन्द भएको छ । ‘प्रि–मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो । गतवर्ष असार १ गते आएको भिषण बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएकोले यस वर्षपनि सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानदिंदै पानी पठान्तरणको काम पूर्णरुपमा रोकिएको छ । सुरुङको ढोका बन्द गरेर प्राविधिकहरु फर्किएका छन् ।

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरी सुरुङमा पानी भर्ने काम गरेको थियो । पानी पठान्तरणको काम सुरुभएसँग काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण भैरहेको थियो । अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरु समेतको टोलिले केहीदिन अघिमात्रै मेलम्ची क्षेत्रको स्थलगत अध्ययन गरेको थियो । मौसमविद्हरुकै सल्लाह अनुसार वर्षात्को अवस्थाबारे परामर्श लिएर काठमाडौं पानी पठाउने सुरुङ बन्द गरिएको हो ।

मेलम्चीबाट पानी पठाउने कार्य असोज मसान्तसम्म बन्द हुनेछ । त्यसपछि मौसम र वर्षाको अवस्था हेरेर सुरुङको ढोका खोलेर पानी पठाइनेछ । असोजपछि मात्रै काठमाडौंमा पुनः पानी वितरण गरिने योजना रहेको छ । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन । त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको प्राविधिकहरु बताउँछन् ।

मेलम्ची खानेपानी आयोजनालाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षेत्र र मुहानस्थलको अवस्थाबारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदनअनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुने बताइएको छ ।

मेलम्ची खानेपानी आयोजनाले नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिसकेको छ । सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको आयोजनाको भनाइ छ ।

काठमाडौं उपत्यकाको बढ्दो पानीको समस्यालाई समाधान गर्न सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माणमा जोड दिएको थियो । गत वर्षको भीषण बाढीका कारण क्षति पुगेको आयोजनलाई सुरक्षित बनाएर वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिने अधिकारीहरुको भनाइछ । एसियाली विकास बैंकले अहिले आयोजनाको अवस्था र जोखिबारे अध्ययन गरिरहेको छ । उक्त अध्ययनको आधारमा सरकारले भरपर्दो रुपमा मेलम्चीको पानी पथान्तरण गर्ने योजना बनाएको छ ।