पोखरा— आज बिहानमात्र क्षतविक्षत अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनाको शव सङ्कलन गर्ने कार्य भएको छ । ती मध्ये १४ जनाको सब सङ्कलन भै सकेको छ । जहाजमा यात्रा गरेका सबै यात्रुको निधन भएको बताइएको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव सङ्कलन भएको र अन्य ८ जनाको पनि शव सङ्कलन गर्ने कार्य भैरहेको जानकारी दिनुभएको छ । भेटिएकामध्ये केही शवहरु चिन्न सकिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा भेटिएको छ ।

आइतबार बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि चालक दलका ३ सदस्य र १९ यात्रु बोकेर हिडेको जहाज सम्पर्कविहीन भएको थियो । हिजोदेखि हराइरहेको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको हो । स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा भएको छ । सबै यात्रुको निधन भएको र अहिले शव सङ्कलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी गराउनु भएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने तयारी भैरहेको बताइन्छ ।

त्यहाँको खराब मौसम, हुस्सु र कुहिरोका कारण उद्धारका निम्ति खटिएको हेलिकोप्टर नै उड्ने अवस्था नरहेकोले उद्धारमा समस्या भैरहेको बताइएको छ ।