फाइल तस्वीर
हेटौडा– केन्द्रीय सरकारले हिजो जेठ १५ गते आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेलगतै बाग्मती प्रदेश सरकारले आज सोमबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभाको बैठकमा बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेशसरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।

चालु अधिवेशनको दोस्रो दिन शनिबार दुई बैठक सञ्चालन भएका थिए । पहिलो बैठकमा प्रदेश सरकारको आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो । सोही दिनको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले विनियोजन विधेयकमाथि भएको छलफलका क्रममा प्रदेशसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिएका थिए । जेठ १३ गतेदेखि बागमती प्रदेशसभाको दशौं अधिवेशन सुरु भएको थियो । चालु अधिवेशन बजेट अधिवेशन हो ।