फाइल तस्वीर
काठमाडौं – निर्वाचनको नतिजा सार्वजनिक भएको पाँच दिनपछि आज सोमबार काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका ३२ वर्षीय इञ्जिनियर बालेन्द्र र एमालेबाट उम्मेदवारी दिएकी सुनिता डङ्गोल आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।

मेयर र उपमेयरलगायत महानगरका अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ । काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउनु हुनेछ । मेयर साहले उपमेयर सुनिता डङ्गोल सहित वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

पद तथा गोपनीयताको शपथ लिएपछि मेयर साह र उपमेयर डङ्गोल सहित अन्य जनप्रतिनिधिहरुले आ–आफ्नो कार्यलयमा पुगी पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि बोर्ड बैठक बसेर मेयर साहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।