काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याउनु भएको हो ।

अर्थमन्त्री शर्माले सार्वजनिक गर्नु भएको बजेट अनुसार चालु खर्चमा ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको छ ।

यसैगरी सरकारले आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब ४० करोड ११ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य रहेको छ । २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड रुपैयाँ वैदेशिक अनुदान लिने अर्थमन्त्रीले बताउनु भयो । स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने छ । सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।