फाइल तस्वीर
काठमाडौं – जोमसोमका लागि आइतबार बिहान पोखराबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते आसपास क्षेत्रमा दुर्घटना भएको छ । चालक दलका तीन सदस्यसहित २२ जना बोकेको विमान आइतबार बिहान दुर्घटना भएको हो ।

चालकदलका तीन सदस्यसहित नेपाली र विदेशी यात्रुहरू बोकेर जोमसोम उडेको विमान सम्पर्कविहिन भएपछि दुर्घटनाको आशङ्का गरिएको थियो । विमान आज बिहान करिब ९ः५० बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । उनीसँगै सह–पाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका छन् । जहाजमा यात्रा गर्ने यात्रु तथा चालक दलका सदस्यहरूको अवस्थाबारे अहिलेसम्म आधिकारिक केही बताइएको छैन ।

पोखरा विमानस्थल कार्यालयका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज १ घण्टासम्म सम्पर्कविहीन भएपछि दुर्घटनाको आशङ्का गरिएको थियो । जोमसोमका लागि समिट एयरलाईन्सका जहाजले उडान गरिसकेका थिए । तारा एयरलाइन्सको जहाज जोमसोमको लागि उड्ने तेस्रो जहाज थियो । खराब मौसमका कारण जहाज दुर्घटनामा परेको आशङ्का गरिएको छ ।

उक्त जहाजमा यात्रा गर्नेमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर थिए ।