काठमाडौं – नेपालको सेयर बजार परिसूचक नेप्सेमा घटबढ भैरहेको छ । साताको अन्तिमदिन आज शुक्रबार नेप्सेमा दोहोरो अङ्कले गिरावट आएको छ । लगातार दुई दिन बढेको सेयर बजार बजेट अगाडि भने करेक्सन भएको हो । कारोबार बन्द हुने दिन शुक्रबार १५ दशमलब ८२ अङ्कले घटेको बजार २२२३ दशमलब ७८ विन्दुमा झरेर रोकिन पुगेको छ ।

बिहीबारको तुलनामा शुक्रबार कारोबार रकममा भने वृद्धि हुन पुगेको छ । कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएता पनि नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट भएको छ ।

शुक्रबार नेप्सेमा १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँको कारोबार भएको छ । शुक्रबार रुरु जलविद्युतको सेयर मूल्य सबैभन्दा धेरै ६ दशमलब १३ प्रतिशतले बढेर ९ सय रुपैयाँ पुगेको छ । नारायणी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्था, यूनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोसहितका कम्पनीको सेयर मूल्य पनि बढ्न गएको छ ।

यस दिन दिव्यश्वरी हाइड्रोको मूल्य सबैभन्दा धेरै ३ दशमलब ७५ प्रतिशतले घटेर २३१ रुपैयाँमा झरेको छ । हिमाल दोलखा हाइड्रो, कर्णाली विकास बैंक माथिल्लो तामाकोशीसहितका कम्पनीहरुको सेयर मूल्यमा सबैभन्दा धेरै घटेको छ ।